म जन्मूँ कि नजन्मूँ ?!

आमा,
तिम्रो गर्वमा अवस्थित तिम्रो सन्तान
तिमीसँग केहि प्रश्न गर्न चाहन्छ।
मेरो बुवालाई लजालु स्वरमा
‘म तपाईंको बच्चाको आमा बन्न लागेकी छु’
भन्न अघि तिमीले यी सबै सुन्नै पर्ने हुन्छ।
मसँग धेरै प्रश्न छन् र एउटै दुविधा:
आमा! म जन्मूँ कि नजन्मूँ?!

तिमी दोजिया भएकी खबरले
तिमीलाई त तुरुन्तै खुसी बनाउने छ।
तर यो खबर परिवारलाई बाँडेको केहि हप्तामै
तिमीलाई स्क्यान गर्न पठाइएला।
म छोरी रहेछु भने त सबै खिन्न हुने छन् आमा,
म छोरी रहेछु भने मलाई
कलम होइन कुचो थमाउने छन्,
स्कूल होइन, बिहे गरी पठाउने छन्,
महिनावारीमा छाउगोठतिर धपाउने छन्,
जहाँ म मर्ने-बाँच्ने केही ठेगान नहोला।
त्यसैले म अन्योलमा छु आमा,
म जन्मूँ कि नजन्मूँ?!

जन्मिन अगावै मेरो त भागबन्डा हुन्छ रे,
जातमा र रङमा, धर्ममा र सामाजिक तहमा!
सोच्दछु…
मेरो जात कथित तल्लो रहे?
रङ अरुभन्दा अलि खल्लो भए?
दर्जाले शिर सदा निहुराउन परे?
यी प्रश्नहरुले मलाई सोच्न बाध्य बनाउँछन् आमा,
म जन्मूँ कि नजन्मूँ?!

यहाँबाट आवाज सुन्छु त केवल
रोदन र कहालीको
बारुद अनि गोलीको।
त्यहाँ त भाइ-भाइमै द्वन्द छ रे,
आफ्नै मनमानीमा देश बन्द छ रे!
अनि यो देश भनेको के रहेछ आमा?
यो धर्म भनेको के रहेछ?
यदि मानवता टुक्राउने यहि देश, धर्म हो भने
आमा, मलाई कुनै देशमा नराख्दिनु,
मेरो कुनै धर्म नलेख्दिनु।
मेरो दुविधा भने झन् भन्दा झन् बढ्दै छ!
आमा! म जन्मूँ कि नजन्मूँ?!

मेरो जात के होला? धर्म के होला?
दर्जा के होला? तह के होला?
यीभन्दा पनि भयानक प्रश्न त यो हो कि
जन्मना साथ मबाट अपेक्षा के राखिएलान्?
मबाट अपेक्षा एक डाक्टरको होला,
तर म कुचीकार बन्न चाहुँला आमा।
मलाई हावामा उड्ने पाइलट बनाउन खोजिएला,
तर म भावना उड्ने कवि बन्न चाहुँला आमा।
त्यसैले अन्तरिक्षजस्तो तिमो पाठेघरमा
म अनिश्चिततामा छु कि
म जन्मूँ कि नजन्मूँ?!

अनि आमा
तिमीले लिने श्वासमा यति धेरै प्रदुषण किन छ?
मानिसका सोच र स्वभावमा,
कार्यलयको टेबुलमुनि,
युवाहरुको औंलाबीच,
यति धेरै प्रदुषण किन छ?

अनि आमा,
यो भग्वान् को हुन्?
मानिसहरु हरदिन ऊसँग सौदा-सम्झौता किन गर्छन्?
उसको मन्दिरमा बजाउने घन्टीमा
यति धेरै प्रदुषण किन छ?

अनि आमा!
यो पैसा के चीज हो?
यसमा त आफ्नो भेषदेखि देशसम्म बिक्ने रहेछ।
त्यो कागजमा
यति धेरै प्रदुषण किन छ?
यति धेरै प्रदुषणमा त म सायद निस्सासिनेछु।
त्यसैले आमा! म जन्मूँ कि नजन्मूँ?!

मजस्तै भूणहरुलाई पनि यी सबै ज्ञात भए
आ-आफ्नी आमालाई सोध्दो हुन्,
आमा! म जन्मूँ कि नजन्मूँ?!
म जन्मूँ कि नजन्मूँ?!
जन्मूँ कि नजन्मूँ?!
??
?


Discover more from Bibidh Subedi

Subscribe to get the latest posts sent to your email.


Comments

Leave a comment